आज देखि देशभर म्यानपावर बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया ठप्प गर्ने व्यवसायीको घोषणा

Image
Nisarga Hospital

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै सोमबारदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। सङ्घका अनुसार म्यानपावर कार्यालय मात्र नभई वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया नै ठप्प हुनेछ।

CP Hospital Dhangadhi

सङ्घले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङ रोकिसकेको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा सकिएपछि सोमबारदेखि सम्पूर्ण काम–कारोबार बन्द गर्न लागिएको हो।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भएका श्रमिकलाई उडान गराउन एक साताअघि नै सबै म्यानपावरलाई सर्कुलर गरिएको थियो। आइतबार राति १२ बजेसम्म त्यस्ता श्रमिकको उडान गरिएपछि अन्य सबै प्रक्रिया रोकिएको उनले बताए।

nawajiwan
Attariya Hospital

श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको सङ्घको भनाइ छ। मन्त्रालयस्तरीय छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले समस्या समाधानलाई प्राथमिकतामा नराखेको सङ्घले आरोप लगाएको छ।

सोमबारदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका शाखा, नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसम्बन्धी सरकारी र प्रशासनिक काम बन्द हुनेछन्।

महासचिव हीराबहादुर डाँगीद्वारा जारी विज्ञप्तिमा माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने उल्लेख छ। वार्ताका लागि ढोका खुला राखेको सङ्घले सरकारको ठोस कदम नआएसम्म काममा नफर्कने अडान दोहोर्‍याएको छ।