
धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ। दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थित गर्न जिल्ला समन्वय समितिको सर्वपक्षीय बैठकले मुख्य पूजाअघि नै पूजा सुरु गर्ने निर्णय गरेको हो।

बडीमालिका मन्दिरका मुख्य पुजारी नेत्र पाध्यायका अनुसार यस वर्ष मुख्य पूजा भदौ ११ गते हुनेछ। जनैपूर्णिमाको अघिल्लो दिन साउन शुक्ल चतुर्दशीमा हुने मुख्य पूजामा अत्यधिक भीड हुने भएकाले यसपटक अगावै पूजा सुरु गरिएको हो। गत वर्ष ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए।
यस वर्ष पनि देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने अनुमान गरिएको छ। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली आउने परम्परा छ। डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’सहितको टोली यसअघि नै बडीमालिकातर्फ प्रस्थान गरिसकेको छ।

गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि धार्मिक तथा पर्यटकीय आकर्षण थप बढेको स्थानीयको भनाइ छ। यसले पनि यस वर्ष दर्शनार्थीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ।

मेलालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ। मन्दिर जाने बाटोमा संकेत चिह्न, साइनबोर्ड र सूचना पाटी राखिनेछ भने धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिएको छ।
दर्शनार्थी बिरामी परे वा आपत्कालीन उद्धार आवश्यक भए तत्काल उद्धारको व्यवस्था मिलाइएको छ। जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा स्वास्थ्य संस्थाको समन्वयमा उद्धार गरिनेछ।
सञ्चार सम्पर्क सहज बनाउन मेलाअघि फोरजी टावर सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ। तर मौसम खराबीका कारण सामग्री ढुवानीमा ढिलाइ हुँदा टावर निर्माण प्रभावित भएको छ।































