धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, तीन वर्षमा ७९८ जनाले लिए सेवा लिए

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले नगरवासीका लागि सञ्चालन गरेको निःशुल्क शव चिस्यान सेवा प्रभावकारी बन्दै गएको छ। उपमहानगरपालिकाले आफ्नै लगानीमा तीन वर्षदेखि ६ वटा शव चिस्यान उपकरण सञ्चालन गर्दै आएको छ। हालसम्म ७९८ जनाले उक्त सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ।

CP Hospital Dhangadhi

विदेशमा रहेका वा घरबाट टाढा रहेका आफन्तजनलाई मृतकको अन्तिम दर्शनका लागि घर फर्किन समय लाग्ने अवस्थालाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिएको हो। विद्युत्बाट सञ्चालन हुने चिस्यान उपकरणमा शवलाई केही समय सुरक्षित राख्न सकिन्छ।

सेवा लिन चाहने परिवारको घरमै नगर प्रहरी पुगेर उपकरण जडान गर्ने व्यवस्था मिलाइएको छ। दाहसंस्कार सम्पन्न भएपछि नगर प्रहरीले नै उपकरण फिर्ता ल्याउने गरेको उपमहानगरपालिकाले जनाएको छ। यसले शोकमा रहेका परिवारलाई शव व्यवस्थापनमा थप सहजता प्रदान गरेको छ।

nawajiwan

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य घर आइपुग्न समय लाग्दा शव सुरक्षित राख्न समस्या हुने भएकाले निःशुल्क चिस्यान सेवाले अन्तिम दर्शनका लागि सहजता भएको बताइन्।

Attariya Hospital

उनका अनुसार मृत्युलाई रोक्न नसकिए पनि आफन्तजन अन्तिम दर्शनका लागि उपस्थित नहुँदासम्म शव सुरक्षित राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले सेवा सञ्चालन गरिएको हो।

उपमहानगरपालिकाले विपन्न परिवारलाई दाहसंस्कारका लागि दाउरा तथा किरिया खर्चबापत ५ हजार रुपैयाँ नगदसमेत उपलब्ध गराउँदै आएको छ। साथै, नगरवासीका लागि निःशुल्क शववाहन सेवा पनि सञ्चालनमा छ।

यस्ता सामाजिक तथा कल्याणकारी कार्यक्रममार्फत धनगढीलाई क्रमशः ‘कल्याणकारी नगर’का रूपमा विकास गर्ने लक्ष्य रहेको उपप्रमुख रानाले बताइन्।