
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य तथा रणनीतिक हर्मुज जलडमरूमध्य खुलाउने प्रयासमा ओमान बाधक बने कडा सैन्य कारबाही गर्ने बताएका हुन्।

विश्वको तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण हर्मुज जलडमरूमध्यमा यातायात सुचारु गर्न इरान र ओमानबीच छुट्टै वार्ता चलिरहेको छ। ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका बेला ट्रम्पको चेतावनीले क्षेत्रीय तनाव थप बढाएको छ। इरानले ओमानसँग जलमार्ग हुँदै हुने यातायात व्यवस्थापनबारे समझदारी बनेको र बाँकी विषय टुंग्याउने काम भइरहेको जनाएको छ।

यसैबीच, अमेरिका र इरानबीचको ६० दिने समझदारीको अवधि सकिएपछि वार्ताको भविष्य अन्योलमा परेको छ। ट्रम्पले उक्त समझदारीको अवधि थप्न आफू इच्छुक नरहेको स्पष्ट पारेका छन्। इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै अमेरिकी दाबीलाई भ्रमपूर्ण भनेको छ।

हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले त्यहाँको तनावले अन्तर्राष्ट्रिय बजारमा समेत असर पार्न थालेको छ। पछिल्लो तनावसँगै तेलको मूल्य बढेको छ भने जलमार्गबाट हुने पानीजहाज आवागमनसमेत उल्लेख्य रूपमा घटेको रिपोर्ट सार्वजनिक भएका छन्।































