
पोखराः मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सर्वसाधारणको चुल्हो निभ्ने अवस्था आउन थालेसँगै पोखरा महानगरपालिकाले विद्युतीय चुल्हो वितरण गरेको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका–२२ का २०० परिवारलाई विद्युतीय चुल्हो हस्तान्तरण गरेका हुन्। बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेपछि तत्कालीन विकल्पका रूपमा नगरवासीलाई विद्युतीय चुल्हो वितरण गरिएको महानगर प्रमुख आचार्यले बताए।
उनका अनुसार ग्यासको अभावका कारण नागरिकलाई खाना पकाउन समस्या नहोस् भन्ने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको हो। यसले ग्यासमा निर्भरता घटाउँदै विद्युत्को प्रयोग बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


विद्युतीय चुल्हो वितरण कार्यक्रम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र उपभोक्ताको लागत साझेदारीमा सञ्चालन गरिएको हो। केन्द्रले ७० प्रतिशत र उपभोक्ताले ३० प्रतिशत लागत व्यहोरेका छन्।
पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालका अनुसार कालाबाङ, भुम्दीलगायत पाँचवटा टोलमा बसोबास गर्ने परिवारलाई चुल्हो वितरण गरिएको हो। ग्यासको अभाव बढ्दै गएपछि वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न महानगरले यस्तो पहल गरेको जनाएको छ। पछिल्लो समय ग्यासको आपूर्ति प्रभावित हुँदा विभिन्न क्षेत्रमा उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने तथा महँगोमा खरिद गर्नुपर्ने समस्या देखिएको छ।































