
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित भएपछि पदमुक्त भएका छन्। प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि उनको पद रिक्त भएको हो। यसको औपचारिक जानकारी सभामुखले भोलिको बैठकमा गराउनेछन्।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यहाँ स्वास्थ्य समस्या देखिएपछि उपचारमा रहेका उनी ११ महिना बितिसक्दा पनि नेपाल फर्किएका छैनन्। गत चैतमा उनले उपचाररत रहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराउँदै स्वास्थ्यमा सुधार भएपछि फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने बताएका थिए।
तर त्यसपछि पनि उनी प्रदेशसभाका बैठकमा उपस्थित भएनन्। छैटौँ अधिवेशनका २५ बैठकमध्ये आठ दिन मात्रै उपस्थित भएका देउवा त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै बैठकमा सहभागी भएनन्। पछिल्ला २७ बैठकमा उनको हाजिरी नरहेको सचिवालयले जनाएको छ।


नेपालको संविधानको धारा १८०(घ) अनुसार सभालाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित भए प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। सोही प्रावधानअनुसार उनको पद रिक्त गरिएको हो।
अमेरिकामै रहे पनि देउवाले ११ महिनामा प्रदेशसभा सचिवालयबाट पारिश्रमिक तथा विभिन्न सुविधाबापत ७ लाख ५३ हजार ५ सय रुपैयाँभन्दा बढी बुझेका छन्। मासिक ६८ हजार ५ सय रुपैयाँका साथै आवास मर्मतका लागि थप ३५ हजार रुपैयाँसमेत भुक्तानी भएको छ।
देउवा कैलाली–५(२) बाट निर्वाचित भएका हुन्। लामो समयदेखि आफ्नो प्रतिनिधि सम्पर्कविहीन रहेको भन्दै मतदाताले असन्तुष्टि जनाउँदै आएका थिए।































