
अत्तरियाः बाजुराको मार्तडी–कोल्टी सडक निर्माणलाई गति दिन तथा जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य सेवा, जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हेमराज थापाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

करिब ४९ किलोमिटर लामो मार्तडी–कोल्टी सडक निर्माण सुरु भएको २६ वर्ष बितिसक्दा पनि पूर्णरूपमा कालोपत्रे हुन नसकेको भन्दै तत्काल काम अघि बढाउन माग गरिएको छ। दन्तुने–कोल्टी खण्डको करिब २६ किलोमिटर सडक कालोपत्रेका लागि ५० करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि भौतिक प्रगति करिब ५० प्रतिशत मात्रै रहेको जनाइएको छ। पटक–पटक म्याद थप्दा पनि काम अघि नबढेको भन्दै ठेक्का खारेज गरी निर्माण कम्पनीलाई कारबाही र राज्यको क्षति असुल गर्न माग गरिएको छ।
कालोपत्रे नहुँदासम्म पहिरो नियन्त्रण, नाली तथा खोलामा संरचना निर्माण र नियमित मर्मतका लागि आकस्मिक बजेट व्यवस्था गर्न तथा डोजर, एक्साभेटर र जनशक्तिसहितको टोली परिचालन गर्न आग्रह गरिएको छ।


त्यस्तै, जिल्ला अस्पताल बाजुरालाई तत्काल ५० शय्यामा स्तरोन्नति गरी विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण र आवश्यक बजेट सुनिश्चित गर्न माग गरिएको छ। प्रसूति, सिजेरियन र आकस्मिक शल्यक्रिया सेवा सञ्चालनका लागि एमडीजीपी, स्त्रीरोग, बालरोग र एनेस्थेसिया विशेषज्ञको व्यवस्था गर्न भनिएको छ।
अस्पतालमा स्थायी ब्लड बैंक, प्रशासनिक जनशक्ति र आधुनिक ४×४ एम्बुलेन्सको व्यवस्था गर्नसमेत माग गरिएको छ। सडक र स्वास्थ्य क्षेत्रका माग तत्काल सम्बोधन नभए थप दबाबका कार्यक्रम अघि बढाउने चेतावनी दिइएको छ।































