बझाङमा आपतकालीन अवस्थामा बाल संरक्षणसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/बझाङः बझाङमा आपतकालीन अवस्थामा बालबालिकाको संरक्षण तथा सुरक्षासम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा प्रगतिशील युवा समाज बझाङको आयोजनामा सञ्चालन भएको तालिमको समन्वय जयपृथ्वी नगरपालिकाले गरेको हो।

CP Hospital Dhangadhi

तालिमको उद्घाटन कार्यक्रममा आपतकालीन तथा विपद्को समयमा बालबालिकाको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ। बझाङमा वल्र्ड भिजन इन्टरनेशनलसँग आबद्ध ४ हजार ५ सय जना बालबालिका रहेका मनुका सिंह मल्ल के जानकारी दिँदै विपद्का जुनसुकै अवस्थामा पनि उनीहरूको संरक्षणका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने बताइएको छ।

कार्यक्रममा प्रगतिशील युवा समाज बझाङका कार्यक्रम संयोजक लवराज जोशीले बालबालिकाको समग्र विकास र संरक्षणका लागि जिल्लाका सबै स्थानीय तहमा जोखिमको अवस्था पहिचान गर्न आवश्यक रहेको बताउनुभयो। विपद्पूर्व, विपद्को समयमा र विपद्पश्चात् बालबालिकाको संरक्षणका लागि अपनाउनुपर्ने उपायबारे छलफल तथा योजना बनाउनुपर्ने उहाँको भनाइ थियो।

nawajiwan

उहाँले बालबालिकालाई विपद्को समयमा कसरी सुरक्षित राख्ने, उनीहरूको अधिकार तथा आवश्यकतालाई कसरी सम्बोधन गर्ने र सम्बन्धित निकायको भूमिका के हुने भन्ने विषयमा तालिम केन्द्रित रहेको जानकारी दिनुभयो।

Attariya Hospital

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसीले बालबालिकालाई सही ठाउँमा सही तरिकाले अवसर र सहयोग उपलब्ध गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। जिल्लामा बालबालिकाको अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा समेत उनीहरूको अवस्था सुधार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।

आपतकालीन अवस्थामा मात्र नभई सामान्य अवस्थामा समेत बालबालिकाको संरक्षण, सुरक्षा र विकासका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी केसीको भनाइ थियो। तालिममा सिकेका विषयवस्तुलाई विद्यालय तथा समुदायस्तरसम्म पुर्‍याउन सहभागीहरूलाई उहाँले आग्रह गर्नुभयो।

तालिममा विपद्को समयमा विभिन्न निकाय तथा सरोकारवालाको भूमिका, बालबालिकामाथि पर्न सक्ने जोखिम, बाल संरक्षणका उपाय, आपतकालीन अवस्थामा अपनाउनुपर्ने प्रक्रिया तथा बालबालिकाको सुरक्षा र अधिकारका विषयमा छलफल तथा अभ्यास गरिने जनाइएको छ।
कार्यक्रममा जयपृथ्वी नगरपालिकाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, बाल संरक्षणसँग सम्बन्धित सरोकारवाला तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो।।