
कैलालीको गोदावरी नगरपालिका–२, तेघरीस्थित सैनिक आवासीय महाविद्यालयमा विद्यार्थी तथा कर्मचारीलाई भोजन शिष्टाचार र भान्सा स्वच्छतासम्बन्धी तीनदिने अभिमुखीकरण प्रदान गरिएको छ।

महाविद्यालय र अत्तरियास्थित एभरेस्ट मल्टिपल कलेजको होटल म्यानेजमेन्ट संकायको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थी तथा कर्मचारीलाई भोजन गर्ने सही विधि, औपचारिक तथा अनौपचारिक भोजनका क्रममा अपनाउनुपर्ने शिष्टाचार, अतिथि सत्कार र व्यावसायिक व्यवहारबारे प्रशिक्षण दिइएको हो।
एभरेस्ट मल्टिपल कलेजका होटल म्यानेजमेन्ट विषय विज्ञ यज्ञ कुँवर तथा शालिनी बाटिकाका म्यानेजर एवं एभरेस्ट मल्टिपल कलेजका शिक्षक हिमांशु भट्टले प्रशिक्षण दिएका थिए। उनीहरूले भोजनका क्रममा अपनाउनुपर्ने व्यवहारसँगै व्यक्तिगत तथा सामूहिक स्वच्छता, भान्सा व्यवस्थापन र स्वास्थ्य सुरक्षाका विषयमा समेत जानकारी गराएका थिए।


महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले भोजन शिष्टाचार व्यावसायिक क्षेत्रमा मात्र नभई दैनिक जीवनमा समेत महत्वपूर्ण हुने भएकाले विद्यार्थी तथा कर्मचारीलाई यसको व्यवहारिक ज्ञान प्रदान गरिएको बताए।
उनले स्वच्छ भान्सा स्वस्थ जीवनका लागि आधारभूत आवश्यकता भएकाले भान्सामा अपनाउनुपर्ने सावधानी र सरसफाइका उपायबारे समेत प्रशिक्षण दिइएको जानकारी दिए।
विद्यार्थीलाई पढाइसँगै जीवनोपयोगी सीप, अनुशासन र सामाजिक संस्कार सिकाउने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको महाविद्यालयले जनाएको छ।































