
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’ अर्थात् होर्मुज जलडमरूलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। विश्वको तेल व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने यो जलमार्गबाट सामान्य अवस्थामा विश्वको कुल तेल ओसारपसारको करिब पाँचौँ भाग हुने गर्छ।

अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले होर्मुज जलडमरूमा पानीजहाजको आवागमन रोक्दै आएको छ। फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघिसम्म यो जलमार्ग खुला अन्तर्राष्ट्रिय मार्गका रूपमा सञ्चालनमा थियो।
ट्रम्पले केही दिनयता होर्मुज जलडमरूलाई अमेरिकी क्षेत्र घोषणा गरी त्यसमा नियन्त्रण कायम गर्ने धारणा सार्वजनिक गर्दै आएका छन्। तर इरानले भने उक्त जलमार्ग इरानकै रहने स्पष्ट पार्दै आएको छ।


ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता क्यानडालाई अमेरिकाको राज्य बनाउने, ग्रीनल्यान्ड र गाजा पट्टीमाथि नियन्त्रण कायम गर्ने लगायतका विवादास्पद प्रस्ताव सार्वजनिक भएका छन्। यद्यपि ती प्रस्ताव कार्यान्वयन भएका छैनन्।
यता इरानले होर्मुज जलडमरू पुनः खोल्न र वार्तामा बस्न अमेरिकी नाकाबन्दी तथा तेल प्रतिबन्ध अन्त्य गर्नुपर्ने, रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने र युद्धबाट भएको क्षतिपूर्ति दिनुपर्ने सर्त अघि सारेको छ। होर्मुजको विषयले अमेरिका–इरान तनाव थप चर्किने संकेत गरेको छ।































