
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

वरिष्ठ नाक, कान तथा घाँटी (ईएनटी) विशेषज्ञ पौडेल हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा ईएनटी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्। उनले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारी सम्हाल्दै स्वास्थ्य क्षेत्रमा सेवा गरेका छन्।

पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्य चिकित्सामा एमएस अध्ययन गोल्ड मेडलसहित पूरा गरेका हुन्। त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस उत्तीर्ण गरेका थिए।

नेपाल मेडिकल काउन्सिलमा समेत अनुभव रहेका पौडेलले काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनको नियुक्तिसँगै काउन्सिलको नेतृत्वमा अनुभवी चिकित्सक आएको बताइएको छ।































