कैलालीको अत्तरियामा भदौ ६ गते बृहत् रक्तदान शिविर आयोजना हुँदै

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा ‘बृहत् रक्तदान जीवनदान शिविर–२०८३’ आयोजना हुने भएको छ। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाको आयोजनामा ‘विश्व बन्धुत्व दिवस’ तथा राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्यतिथि तथा स्मृति दिवसको अवसरमा आगामी भदौ ६ गते रक्तदान शिविर सञ्चालन गर्न लागिएको हो।

CP Hospital Dhangadhi

बिहीबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाकी सञ्चालिका रविनाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन्। ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने भावनाका साथ अन्तर्राष्ट्रियस्तरमै रक्तदान जीवनदान शिविर आयोजना हुँदै आएको उनले बताइन्।

उनका अनुसार अत्तरिया उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजना हुने शिविरमा स्थानीय संघसंस्था, क्लब, व्यवसायी तथा सर्वसाधारणको सहभागिता र सहयोग रहने अपेक्षा गरिएको छ। रक्तदानजस्तो मानवीय कार्यमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताइन्।

nawajiwan
Attariya Hospital

रक्तदान शिविर ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाको प्राङ्गणमा भदौ ६ गते बिहान ८ बजेदेखि सुरु हुनेछ। आयोजकले रक्तदान गर्न इच्छुक सम्पूर्ण नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग वाणिज्य संघकी उपाध्यक्ष धाना चोखालले रक्तदान कार्यक्रमलाई सफल बनाउन अत्तरिया क्षेत्रका उद्योगी तथा व्यवसायीलाई सक्रिय सहभागिताका लागि आह्वान गरिन्। उनले रक्तदानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताइन्।

आयोजकका अनुसार शिविरमा विभिन्न संघसंस्था, सामाजिक समूह तथा स्थानीय समुदायको सहभागिता जुटाउने तयारी गरिएको छ। रक्तदानमार्फत मानवीय सेवा र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।