
अत्तरियाः पाकिस्तानी टिकटकर तथा कन्टेन्ट क्रिएटर एलिजे जमालीको इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि उनी भावुक भएकी छन्। करिब पाँच वर्षको मेहनतपछि बनाएको अकाउन्ट सस्पेन्ड हुँदा आफू निकै दुःखी र तनावमा परेको भन्दै उनले भिडियोमार्फत आफ्ना भावना सार्वजनिक गरेकी हुन्।

नेपाली टिकटकर आयुषसँग विवाह गरेर नेपालमा बस्दै आएकी एलिजेले आफ्नो युट्युब च्यानलमा भावुक हुँदै गरेको भिडियो सार्वजनिक गरेकी छन्। भिडियोमा उनी मेकअप गर्दै र कपाल कर्ल गर्ने तयारीमा रहेकी बेला इन्स्टाग्राममा आएको नोटिफिकेसन देखेपछि भावुक भएको देखिन्छ।
एलिजेका अनुसार उनको अकाउन्टविरुद्ध कपीराइट क्लेम आएपछि इन्स्टाग्रामले अकाउन्ट सस्पेन्ड गरेको हो। आफूले सधैँ मौलिक अर्थात् अर्ग्यानिक कन्टेन्ट बनाउँदै आएको दाबी गर्दै उनले कपीराइट क्लेमप्रति असन्तुष्टि जनाएकी छन्।


उनले आफूले अरूको कन्टेन्ट स्टिच वा ड्युएट नगरेको र आफ्नै सामग्री निर्माण गर्दै आएको बताइन्। अकाउन्ट सन् २०२२ मा आयुषलाई भेट्नुअघि नै बनाएको उल्लेख गर्दै उनले अकाउन्ट फिर्ताका लागि अपिल गरिसकेको जानकारी दिइन्।
एलिजेले सामाजिक सञ्जाल अकाउन्ट आफ्ना लागि केवल एउटा अकाउन्ट नभई वर्षौँको मेहनत र आम्दानीको माध्यम भएको बताइन्। अकाउन्टबाट आफूलाई काम तथा अवसर प्राप्त हुने भएकाले सस्पेन्ड हुँदा निकै ठूलो धक्का लागेको उनको भनाइ छ।
उनले अकाउन्ट फिर्ता नआए पनि नयाँ अकाउन्ट बनाएर शून्यबाट पुनः सुरुवात गर्ने बताएकी छन्। साथै, आफ्नो अकाउन्ट सस्पेन्ड हुँदा केही व्यक्तिले ‘राम्रो भयो’ भन्दै प्रतिक्रिया दिएकोमा दुःख व्यक्त गर्दै आफूले कसैको नराम्रो नचिताउने र सबैलाई सम्मान गर्ने प्रयास गर्ने बताइन्।































