
कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सदस्य तेजबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयले बिहीबार ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरी बमलाई नगद रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार विद्यालयमा कार्यरत एक कर्मचारीको सेवा–सुविधा वृद्धि गरिदिने भन्दै बमले दुई लाख रुपैयाँ मागेको उजुरी परेको थियो। उजुरीपछि आयोगको टोलीले अनुसन्धान अघि बढाउँदै उनलाई रकमसहित पक्राउ गरेको हो।

अख्तियार कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले बमलाई घुस रकमसहित पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार पक्राउ परेका बमलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

आयोगले सार्वजनिक पद तथा जिम्मेवारीमा रहेका व्यक्तिले आर्थिक लाभका लागि सेवाग्राहीसँग रकम माग्ने वा लिने कार्य भ्रष्टाचारजन्य अपराध भएकाले त्यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।































