बाल संरक्षणलाई प्रभावकारी बनाउन बझाङमा तीन दिने तालिम सम्पन्न

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङ: प्राकृतिक विपद् तथा आपतकालीन अवस्थामा बालबालिका बढी जोखिममा पर्ने भएकाले उनीहरूको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न सरोकारवालाको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ। यसै उद्देश्यले बझाङमा सञ्चालन गरिएको आपतकालीन अवस्थामा बाल संरक्षणसम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा प्रगतिशील युवा समाज बझाङको आयोजनामा सञ्चालन भएको तालिममा विपद्का समयमा बालबालिकामाथि पर्न सक्ने विभिन्न जोखिम, बाल संरक्षणका उपाय तथा आपतकालीन अवस्थामा बालमैत्री सेवा र सहयोगका विषयमा प्रशिक्षण दिइएको थियो।
बझाङ जिल्लामा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा साझेदारीमा सञ्चालित विभिन्न कार्यक्रममार्फत करिब ४ हजार ५ सय बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्। विपद् तथा आपतकालीन अवस्थामा यस्ता बालबालिकासहित जिल्लाका अन्य बालबालिकाको सुरक्षा र संरक्षणलाई प्रभावकारी बनाउन क्षमता अभिवृद्धि तालिम महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा विपद्का समयमा बालबालिका किन बढी जोखिममा पर्छन्, बालबालिकामाथि हुन सक्ने हिंसा, दुर्व्यवहार, शोषण, बेचबिखन, बालविवाह तथा अन्य जोखिमबाट कसरी जोगाउने, जोखिममा रहेका बालबालिकाको पहिचान तथा आवश्यक सहयोग र संरक्षणका लागि अपनाउनुपर्ने प्रक्रियालगायतका विषयमा सहजीकरण गरिएको थियो।

nawajiwan

त्यस्तै, आपतकालीन अवस्थामा बालबालिकाको मनोसामाजिक अवस्था, सुरक्षित स्थानमा व्यवस्थापन, बालमैत्री वातावरण निर्माण, बालबालिकाको सहभागिता तथा बाल संरक्षणका लागि स्थानीय तह, समुदाय, परिवार र सरोकारवाला निकायबीचको समन्वयका विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लबराज जोशीले आपतकालीन अवस्थामा बालबालिका सबैभन्दा संवेदनशील समूह भएकाले उनीहरूको संरक्षणका लागि समुदायस्तरबाटै तयारी आवश्यक रहेको बताउनुभयो। उहाँले विपद्का समयमा बालबालिकालाई सुरक्षित राख्न अभिभावक, समुदाय, स्थानीय सरकार तथा सम्बन्धित संघसंस्थाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो।

Attariya Hospital

तालिममा सहभागीको तर्फबाट दिपा जोशीले तालिमले विपद्को समयमा बालबालिकाको संरक्षण र सहयोगका लागि आवश्यक ज्ञान तथा व्यवहारिक सीप प्राप्त भएको बताउनुभयो।

‘विपद्मा बालबालिकाको आवाज र सुरक्षालाई प्राथमिकता दिनुपर्छ’
कार्यक्रमको समापन समारोहमा प्रगतिशील युवा समाजकि कार्यकारी सदस्य कल्पना सिंहले विपद्का बेला बालबालिका अन्य समूहभन्दा बढी जोखिममा पर्ने भएकाले उनीहरूको सुरक्षा र संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

सिंहले भन्नुभयो, “विपद् जुनसुकै बेला आउन सक्छ। यस्तो अवस्थामा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यकताप्रति हामी सबै संवेदनशील हुनुपर्छ। बालबालिकालाई सुरक्षित वातावरण दिन परिवार, समुदाय, स्थानीय सरकार र सरोकारवाला सबैको साझा जिम्मेवारी हो। यस तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै विपद्का समयमा बालबालिकालाई सुरक्षित राख्न हामी सबैले भूमिका खेल्नुपर्छ।”

तालिमले बझाङमा आपतकालीन अवस्थामा बाल संरक्षणका क्षेत्रमा काम गर्ने सरोकारवालाको क्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा बालबालिकाको सुरक्षा तथा संरक्षणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
विपद् व्यवस्थापनको तयारीदेखि उद्धार, राहत तथा पुनःस्थापनासम्मका हरेक चरणमा बालबालिकाको सुरक्षा र अधिकारलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता कार्यक्रममार्फत औंल्याइएको छ।