
इजरायलले कब्जा गरिएको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण ‘ई–१’ क्षेत्रमा १ हजार २३४ नयाँ आवासीय एकाइ निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेपछि बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाले कडा विरोध गरेका छन्।

पाँच देशले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै इजरायलको योजना ‘अस्वीकार्य’ भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन्। उनीहरूले ई–१ क्षेत्रमा बस्ती विस्तारले इजरायल र प्यालेस्टिनीबीचको शान्ति प्रक्रियालाई थप जटिल बनाउने तथा दुई–राज्य समाधानको सम्भावनामा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।
इजरायली आवास मन्त्रालयले ई–१ क्षेत्रमा प्रस्तावित ३ हजार ४०१ आवासीय एकाइमध्ये १ हजार २३४ का लागि बोलपत्र आह्वान गरेको हो। करिब १२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको परियोजना पूर्वी जेरुसेलम र इजरायली बस्ती माले अदुमिमबीच पर्छ। बोलपत्र बुझाउने अन्तिम मिति अक्टोबर १९ तोकिएको छ।


संयुक्त राष्ट्रसंघका महासचिवले पनि ई–१ परियोजनाले भौगोलिक रूपमा जोडिएको प्यालेस्टिनी राज्य निर्माणको सम्भावनामा ‘अस्तित्वगत खतरा’ निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
इजरायलले सन् १९६७ को युद्धपछि वेस्ट बैंक र पूर्वी जेरुसेलममा करिब १६० बस्ती निर्माण गरेको छ। ती बस्तीमा करिब ७ लाख इजरायली बसोबास गर्छन् भने वेस्ट बैंकमा करिब ३३ लाख प्यालेस्टिनी छन्।
प्यालेस्टिनी पक्षले वेस्ट बैंक, पूर्वी जेरुसेलम र गाजालाई भविष्यको स्वतन्त्र राज्यको भूभागका रूपमा दाबी गर्दै आएको छ। अन्तर्राष्ट्रिय समुदायले कब्जा गरिएको क्षेत्रमा बस्ती निर्माणलाई अन्तर्राष्ट्रिय कानुनविपरीत मान्दै आएको छ।































