नवप्रवर्तनको यात्रामा दुर्गालक्ष्मी नमुना मावि : अत्तरियामा स्टिम ल्याब सञ्चालन, विद्यार्थीले देखाए रोबोट र प्रविधिको कौशल

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) ल्याब सञ्चालनमा ल्याइएको छ। विद्यार्थीमा विज्ञान तथा प्रविधिप्रतिको रुचि बढाउँदै सिर्जनशीलता, प्रयोगात्मक सिकाइ र अनुसन्धान क्षमताको विकास गर्ने उद्देश्यले ल्याब स्थापना गरिएको विद्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

ल्याब उद्घाटनका क्रममा विद्यार्थीहरूले आफूले निर्माण गरेका विभिन्न रोबोट तथा प्रविधिमा आधारित सामग्री प्रदर्शन गरेका थिए। विद्यार्थीले तयार पारेका सामग्रीले उनीहरूको प्राविधिक ज्ञानसँगै नयाँ कुरा सिक्ने र आफैं सिर्जना गर्ने उत्साहसमेत झल्काएको थियो।

nawajiwan
 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि भट्टराईले स्टिम ल्याबले विद्यार्थीलाई किताबमा सीमित ज्ञानभन्दा बाहिर गएर प्रयोगात्मक रूपमा सिक्ने अवसर प्रदान गर्ने बताए। विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका विषयलाई व्यवहारसँग जोड्न ल्याब महत्वपूर्ण हुने उनको भनाइ राखेका थिए।

Attariya Hospital

विद्यालयका प्रधानाध्यापक वीरबहादुर महताले बदलिँदो समयअनुसार विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न ल्याब सञ्चालनमा ल्याइएको बताए। विद्यार्थीको रुचि, सिर्जनशीलता र अनुसन्धान क्षमता विकास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको प्रयासमा ल्याब महत्वपूर्ण उपलब्धि भएको उनले बताए।

 

स्टिम ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरू पनि उत्साहित देखिएका छन्। उनीहरूले आफूले पढेका विषयलाई प्रयोगमार्फत बुझ्न पाउने भएकाले सिकाइ अझ प्रभावकारी र रमाइलो हुने बताएका छन्। “किताबमा पढेको कुरा आफैं प्रयोग गरेर हेर्न पाउँदा नयाँ कुरा सिक्ने उत्साह बढेको छ,” धेरै विद्यार्थीले भने।

 

विद्यालयले स्टिम ल्याबलाई नियमित प्रयोगमा ल्याउँदै विद्यार्थीलाई रोबोटिक्स, प्रविधि तथा प्रयोगात्मक परियोजनामा थप सक्रिय बनाउने जनाएको छ।