चीनको ‘आइस सिल्क रोड’ सञ्चालन, युरोप जोड्ने आर्कटिक मार्गमा बढ्यो चासो

Image
Nisarga Hospital

मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण हर्मुज र बाब अल–मन्देबजस्ता महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोडिने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। ‘आइस सिल्क रोड’ नाम दिइएको यो मार्ग चीनको पूर्वी तटीय सहर निङ्बोबाट सुरु भएर रुसको नर्दन सी रुट हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलिक्सस्टोमा पुग्छ।

CP Hospital Dhangadhi

चिनियाँ कम्पनी सी लेजेन्डले गत वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। परीक्षणका क्रममा चीनबाट युरोप पुग्न करिब २० दिन लागेको अलजजिराले जनाएको छ। परम्परागत समुद्री मार्गको तुलनामा छोटो दूरी र समयका कारण चीनले यो मार्गलाई भविष्यको वैकल्पिक व्यापारिक मार्गका रूपमा अघि बढाएको हो।

मध्यपूर्वको द्वन्द्वसँगै लाल सागर र स्वेज नहर क्षेत्रमा सुरक्षा जोखिम बढेपछि केही पानीजहाज कम्पनीहरूले वैकल्पिक मार्ग खोजिरहेका छन्। हर्मुज जलमार्गबाट विश्व व्यापारको ठूलो हिस्सा तेल तथा एलएनजी ओसारपसार हुने भएकाले त्यस क्षेत्रमा हुने अस्थिरताले विश्व आपूर्ति प्रणालीमा असर पार्ने जोखिम रहन्छ।

nawajiwan
Attariya Hospital

यही परिस्थितिमा चीनसहित विभिन्न देश र व्यापारिक कम्पनीको आर्कटिक समुद्री मार्गप्रति चासो बढेको छ। यद्यपि, बरफ र प्रतिकूल मौसमका कारण यो मार्ग वर्षभरि सञ्चालन गर्न चुनौतीपूर्ण छ। विशेषज्ञहरूका अनुसार तत्कालै स्वेज नहरको पूर्ण विकल्प बन्ने सम्भावना कम भए पनि मौसमी वैकल्पिक मार्गका रूपमा यसको रणनीतिक महत्व बढ्न सक्छ।

आर्कटिक क्षेत्र पछिल्लो समय अमेरिका, रुस, चीन र युरोपबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाको केन्द्रसमेत बन्दै गएको छ। चीनको यो पहलले भविष्यमा विश्व व्यापारसँगै आर्कटिक क्षेत्रमा भू–राजनीतिक प्रतिस्पर्धा थप तीव्र हुन सक्ने संकेत गरेको छ।