
सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री खगराज भट्टले एक–दुई दिनभित्रै सरकार विस्तार हुने बताएका छन्। विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीअनुसार तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो।

मन्त्री सिफारिसका लागि नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता भट्ट सम्मिलित कार्यदलले आकांक्षीहरूको नाम केन्द्रमा पठाएको छ। सर्वसम्मत निर्णय हुन नसकेपछि १२ जनाको नाम केन्द्रमा पठाएर त्यहीँबाट छनोट भएका नाम स्वीकार गर्ने सहमति भएको इन्चार्ज जोशीले बताए।
सिफारिस सूचीमा साबिक माओवादीबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेल छन्। साबिक नागरिक उन्मुक्तिबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा साबिक एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम पठाइएको छ।


केन्द्रमा छलफलपछि तीन जनाको नाम प्रदेशमा पठाइनेछ। उनीहरूलाई भौतिक पूर्वाधार विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
यसअघि एमालेबाट आर्थिक मामिलामा चक्र मल्ल, सामाजिक विकासमा सन्तोषी थापा शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमा दमन भण्डारी तथा आर्थिक मामिला राज्यमन्त्रीमा जानकी बम ऐर नियुक्त भइसकेका छन्। नेकपाले केन्द्रबाट नाम प्राप्त भएलगत्तै बाँकी मन्त्री र राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेको छ।































