
धनगढीः खप्तड यातायात प्रा.लि.ले धनगढीदेखि काठमाडौंसम्म आरामदायी, सुरक्षित र सुविधासम्पन्न यातायात सेवा दिने उद्देश्यले पाँच वटा नयाँ एसी बससहित ‘आसन एक्सप्रेस’ सेवा सञ्चालनमा ल्याएको छ।

धनगढी बसपार्कमा आयोजित एक कार्यक्रमबीच ‘आसन एक्सप्रेस’ सेवाको औपचारिक उद्घाटन गरिएको हो। खप्तड यातायात प्रा.लि.का अध्यक्ष अनन्तराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कथावाचक आचार्य सत्यराज अवस्थी प्रमुख अतिथि रहेका थिए।
नयाँ बसहरूमा टु–वाइ–वान भीभीआईपी सोफा सिट, एसीलगायत आधुनिक तथा आरामदायी सुविधा उपलब्ध रहेको प्रालिले जनाएको छ। यात्रुको आराम, सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै नयाँ सेवा सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।


उद्घाटन कार्यक्रममा राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश अध्यक्ष ललित चन्द, कैलालीमा सञ्चालित विभिन्न यातायात प्रालिका प्रतिनिधि, यातायात मजदुर तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।
कार्यक्रममा यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या, यातायात क्षेत्रको सुधार तथा यात्रुलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल गरेका थिए। व्यवसायलाई व्यवस्थित, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन आवश्यक पहल गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
खप्तड यातायातले सेवा विस्तारसँगै यात्रुलाई सहज, सुरक्षित र स्तरीय यात्रा अनुभव प्रदान गर्ने जनाएको छ। नयाँ ‘आसन एक्सप्रेस’ सेवाले सुदूरपश्चिमबाट काठमाडौं आवतजावत गर्ने यात्रुलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।































