
कञ्चनपुरः महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र शय्या अभाव हुँदा मिर्गौला पीडित बिरामीले नियमित डायलाइसिस सेवा पाउन समस्या भइरहेको छ। बिरामीको चापअनुसार स्रोतसाधन पर्याप्त नहुँदा उपचारका लागि लामो समय पालो कुर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीका अनुसार हाल दुई सिफ्टमा डायलाइसिस सेवा सञ्चालन भइरहेको छ। अस्पतालमा १० वटा बेड रहे पनि नौ वटा मात्रै सञ्चालनमा छन्। एउटा मेसिन भने आकस्मिक अवस्थाका लागि ब्याकअपमा राख्नुपर्ने भएकाले नियमित सेवामा प्रयोग गर्न सकिएको छैन।
दैनिक करिब २५ जना बिरामी डायलाइसिसका लागि अस्पताल आउने गरेका छन्। नियमित रूपमा हप्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने बिरामीको संख्या बढ्दै गएपछि उपलब्ध शय्या र उपकरणमा चाप बढेको छ। करिब २५ जना बिरामीले पालो कुर्नुपर्ने अवस्था रहेको मेसु जोशीले बताए।


उनका अनुसार चार जना थप स्टाफ नर्स उपलब्ध भए रातिको सिफ्टसमेत सञ्चालन गरी सेवा विस्तार गर्न सकिन्छ। “हामीसँग भौतिक संरचना छ, शय्या र जनशक्ति थप भए रातिको समयमा पनि सेवा दिन सक्छौँ,” उनले भने।
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्दै प्रदेशका अस्पतालमा डायलाइसिस शय्या थप गरी मिर्गौला रोगीको उपचार पहुँच विस्तार गर्ने निर्णय गरेका छन्। तर अस्पताल प्रशासनले शय्या थपसँगै आवश्यक जनशक्ति र उपकरण पनि उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ। हाल पालो नपाएका केही बिरामी उपचारका लागि अन्य अस्पताल जान बाध्य भइरहेका छन्।































