
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका विषयमा शुक्रबार बसेको सर्वपक्षीय भेला ठोस निष्कर्षमा पुग्न सकेन। नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा बसेको भेलामा नगरभित्रका विभिन्न क्षेत्रका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

भेलामा सहभागीहरूले छाडा चौपायाको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए पनि व्यवस्थापनका लागि स्थान छनोट, आवश्यक पूर्वाधार तथा कार्ययोजनाबारे सहमति जुट्न सकेन। सामुदायिक वनका प्रतिनिधि तथा अन्य सरोकारवालासँग थप छलफल आवश्यक रहेको भन्दै भदौ ११ गते प्रदेश सांसदसहित पुनः बैठक बस्ने सहमति भएको छ।

भेलामा लिखित निर्णय नगरी बैठक टुंग्याइएको भन्दै केही स्थानीयले असन्तुष्टि जनाएका थिए। सो क्रममा सहभागीबीच केहीबेर भनाभनसमेत भएको थियो।

छाडा चौपाया व्यवस्थापनको माग गर्दै स्थानीयले तीन दिनअघि नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए। त्यसपछि नगर प्रमुख भट्टले समस्या समाधानका लागि सर्वपक्षीय भेला बोलाएका हुन्। तर, आफूहरूलाई जानकारी नदिई प्रशासनको सहयोगमा दोस्रो दिन नै ताला खोलिएको भन्दै स्थानीयले आपत्ति जनाएका थिए। नगरपालिकाले आगामी बैठकबाट ठोस समाधान खोज्ने तयारी गरेको जनाएको छ।































