
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्का चार मन्त्री तथा राज्यमन्त्रीले आज राति साढे ८ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने तयारी छ।

नेकपाबाट ओमविक्रम भाट र खुसीराम डगौरा थारू मन्त्री तथा जानकी कुँवर र इन्दिरा गिरी राज्यमन्त्री बन्ने भएका छन्। भाटलाई भौतिक पूर्वाधार विकास र थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। कुँवरलाई भौतिक पूर्वाधार विकास र गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री भट्टले यसअघि एमालेबाट चक्र मल्ललाई आर्थिक मामिला, सन्तोषी थापा शर्मालाई सामाजिक विकास र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिसकेका छन्। एमालेकै जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भइसकेकी छन्। आज हुने शपथसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।
































