
बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा निरन्तर खसिरहेको पहिरोका कारण सात घर उच्च जोखिममा परेका छन्। गत साउन २६ गतेदेखि सक्रिय पहिरोले घर, भान्सा, शौचालय तथा खेतियोग्य जमिनमा क्षति पुर्याएपछि स्थानीय पानी पर्दा छिमेकीको घरमा आश्रय लिन बाध्य छन्।

रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भीरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराका परिवार जोखिममा रहेका छन्। स्थानीयका अनुसार २०७८ सालदेखि निरन्तर पहिरो खस्दै आए पनि दीर्घकालीन रोकथामका लागि पहल हुन सकेको छैन।
पहिरोले घरमाथिको जमिन चर्किनुका साथै खानेपानी र सडकसमेत प्रभावित भएको छ। सडक बगाउँदा विद्यार्थीलाई आधा घण्टाको दूरीमा रहेको विद्यालय पुग्न डेढ घण्टासम्म लाग्ने गरेको स्थानीयको गुनासो छ। उनीहरूले बस्ती नै सुरक्षित स्थानमा सार्न माग गरेका छन्।


वडा अध्यक्ष भानबहादुर बोहराका अनुसार पहिरोले ४० रोपनीभन्दा बढी खेतियोग्य जमिनमा क्षति पुर्याएको छ। स्थानीय गम्भीर बोहराको करिब १५ रोपनीभन्दा बढी जमिनमा लगाइएको मकैबालीसमेत बगेको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा प्रभावित क्षेत्रको निरीक्षण गरिएको छ। प्रजिअ अर्यालले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउँदै टेन्ट र त्रिपाललगायत सामग्री व्यवस्थाका लागि समन्वय भइरहेको जानकारी दिइन्। विद्युत् सेवा सञ्चालनमा आइसकेको र खानेपानी समस्या समाधानका लागि निर्देशन दिइएको उनले बताइन्।































