
कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा तोकिएको सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण कार्य तत्काल अघि बढाउन ‘जय गोदावरी’ अभियानले माग गरेको छ। अभियानले प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै राजधानी निर्माणका लागि ठोस योजना, आवश्यक बजेट र समयसीमा निर्धारण गरी काम अघि बढाउन आग्रह गरेको हो।

ज्ञापनपत्रमा प्रदेशसभाले २०७५ असोज १२ गते दुई तिहाइ बहुमतबाट गोदावरीलाई स्थायी राजधानी बनाउने ऐतिहासिक निर्णय गरेको लामो समय बितिसक्दा पनि कार्यान्वयन हुन नसक्नु दुःखद भएको उल्लेख छ। अभियानका संयोजक धनबहादुर बोगटी ‘धिरेन’ले हस्ताक्षर गरेको ज्ञापनपत्रमा अब थप ढिलाइ नगरी राजधानी निर्माणको प्रक्रिया अघि बढाउन माग गरिएको छ।

अभियानले गोदावरीमा राजधानी निर्माण भवन बनाउने विषयमा मात्र सीमित नभई सुदूरपश्चिमको आत्मसम्मान, पहिचान, भविष्य र समृद्धिसँग जोडिएको विषय भएको जनाएको छ। मुख्यमन्त्री भट्टको नेतृत्वमा विगतको अन्योल अन्त्य गर्दै तीव्र कार्यान्वयनको अपेक्षा गरिएको अभियानले जनाएको छ।

त्यस्तै, सुदूरपश्चिमलाई ‘देवभूमि’ घोषणा गर्दै देवभूमिको प्रवेशद्वारका रूपमा रहेको गोदावरी धामलाई एकीकृत विकास परियोजनाअन्तर्गत प्रदेशको गौरवको आयोजनाका रूपमा समेटी शीघ्र कार्यान्वयन गर्न पनि अभियानले माग गरेको छ।































