
बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मन्दिरमा हुने पूजाका लागि पुगेको कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोलीलाई बाजुरामा स्वागत गरिएको छ। शनिबार सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले औपचारिक कार्यक्रम आयोजना गरी टोलीको स्वागत गरेको हो।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बडीमालिकासहित सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र संवद्र्धनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले प्रदेशका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहकार्य आवश्यक रहेको उल्लेख गरे।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले धनगढीले सुरु गरेको ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानले प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचानलाई उजागर गर्दै समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।


धनगढी उपमहानगरपालिकाले गत वर्षदेखि धार्मिक, पर्यटकीय तथा सांस्कृतिक परम्परासँग जोडिएको बडीमालिका तीर्थयात्रालाई निरन्तरता दिँदै आएको छ। सोही क्रममा यस वर्ष पनि सरकारी टोली बडीमालिका पूजाका लागि पठाइएको हो।
टोली शनिबार मार्तडीबाट बडीमालिका मन्दिरतर्फ प्रस्थान गरेको छ। तीर्थयात्रामार्फत धार्मिक पर्यटन प्रवर्द्धनसँगै सुदूरपश्चिमका मौलिक संस्कृति र पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।






























