
पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी टोकियोसहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रान्तलाई केन्द्रविन्दु बनाएर स्थानीय समयअनुसार बिहान करिब २ बजे ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरेको छ।

भूकम्पपछि सर्वसाधारणका मोबाइल फोनमा आपत्कालीन चेतावनीसमेत बजेको थियो। यद्यपि, भूकम्पबाट तत्काल मानवीय क्षति वा ठूलो भौतिक नोक्सानी भएको विवरण सार्वजनिक भएको छैन। जापान सरकारले सम्भावित क्षतिको अवस्था बुझ्न विशेष कार्यदल गठन गरेको प्रधानमन्त्री सानाए ताकाइचीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

मौसम विज्ञान एजेन्सीले उक्त भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले अवस्था निगरानी गरिरहेका छन्।

यसअघि गत महिना जापानको दक्षिणी टापु क्युसुको कुमामोतो क्षेत्रमा ७.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो। उक्त घटनामा ३८ जनाको मृत्यु, ३६४ जना घाइते हुनुका साथै १,५०० भन्दा बढी भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।































