
सुदूरपश्चिम प्रदेश सरकारले प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिका मन्दिरमा पूजाआजाका लागि पेटारो पठाएको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टले पूजा गरेपछि पेटारो बाजागाजाबिनै बाजुरातर्फ पठाइएको हो।

सरकारले पठाएको पेटारो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पदमबहादुर शाहीको नेतृत्वमा गएको टोलीलाई जिम्मा लगाइएको छ। शाही बाजुराबाट निर्वाचित सांसद हुन्। पेटारो लैजाने टोलीमा सत्तापक्षका कुनै मन्त्री वा सांसद सहभागी नभएपछि प्रदेश सरकारले कर्मचारीलाई भने टोलीमा पठाएको जनाएको छ।
पेटारो पठाउनुअघि सरकारी पक्षले आवश्यक धार्मिक तयारीसमेत नगरेको देखिएको छ। पूजा कर्मका लागि पण्डितको व्यवस्था नभएपछि सांसद शाहीले नै उपस्थित पत्रकार हिमाल जोशीलाई धार्मिक कर्म गरिदिन आग्रह गरेको बताइएको छ। पूजाका लागि आवश्यक कुस, गोबर, गहुँत, दूधलगायत सामग्रीसमेत पर्याप्त व्यवस्थापन नगरिएको जनाइएको छ।


परम्पराअनुसार सरकारी पेटारो बाजागाजासहित पठाउने प्रचलन रहे पनि प्रदेश सरकारको टोली भने सांस्कृतिक झाँकी र बाजागाजाबिनै हिँडेको छ। यसअघि धनगढी उपमहानगरपालिकाले नगर प्रहरीको ब्यान्डसहित नगर प्रमुख गोपाल हमालको नेतृत्वमा पेटारो बडिमालिका पठाएको थियो।
सुरक्षा निकायका अनुसार प्रदेश सरकारले बाजागाजासहितको टोली व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीसँग समेत समन्वय गरेको छैन। तयारी र समन्वयको अभावका कारण प्रदेश सरकारको पेटारो पठाउने कार्यक्रम फितलो देखिएको टिप्पणी हुन थालेको छ।






























