सीमा सुरक्षामा नेपाल–भारत सहकार्य थप मजबुत, संयुक्त गस्ती र सूचना आदानप्रदान बढाउने सहमति

Image
Nisarga Hospital

नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षा थप प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्ने तथा सीमा अपराधसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने सहमति गरेका छन्।

CP Hospital Dhangadhi

महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र रोकथामबारे छलफल भएको हो।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलका अनुसार बैठकमा हातहतियार तथा लागूऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण, सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भारका विषयमा छलफल गरिएको थियो।

nawajiwan
Attariya Hospital

दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई थप क्षेत्रमा विस्तार गर्ने र सीमा क्षेत्रमा हुने आपराधिक घटनासम्बन्धी सूचना तत्काल एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको पोखरेलले जानकारी दिए। सीमा अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको उनले बताए।

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर तथा भारतको सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया र प्रहरी उपरीक्षक अमित रञ्जनसहित दुवै देशका सुरक्षा अधिकारी सहभागी थिए।

बैठकले खुला सीमाबाट हुनसक्ने अवैध गतिविधि नियन्त्रणसँगै सीमा क्षेत्रमा शान्ति तथा सुरक्षाको वातावरण कायम गर्न संयुक्त प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।