राजधानी निर्माणसहित विकासका माग राख्दै प्रदेश सरकारलाई एमाले क्षेत्र नं. ४ को ज्ञापनपत्र

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणसहित क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ समन्वय कमिटीले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

CP Hospital Dhangadhi

निर्वाचन क्षेत्र नं. ४ समन्वय कमिटीका संयोजक गणेशबहादुर साउँदको अगुवाइमा गएको टोलीले मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आर्थिक मामिलामन्त्री तथा कृषिमन्त्रीसमक्ष राजधानी निर्माण, सडक पूर्वाधार तथा धार्मिक पर्यटन विकाससँग सम्बन्धित मागहरू प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा गोदावरी नगरपालिका-२ र ४ स्थित तेघरीमा प्रदेश राजधानी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी प्रक्रिया अघि बढाउनुपर्ने, राजधानी क्षेत्रको जग्गा व्यवस्थापन तथा वातावरणीय अध्ययनलगायतका प्रक्रिया शीघ्र टुंग्याउनुपर्ने माग गरिएको छ ।

nawajiwan

त्यस्तै, चौकीडाँडा-फल्टुडे सडकलाई प्राथमिकताका साथ निर्माण गरी पहाडी क्षेत्रसँग सहज सडक सञ्जाल विस्तार गर्नुपर्ने तथा यस क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थललाई जोड्ने धार्मिक पथ (धार्मिक सर्किट) निर्माणको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ ।

Attariya Hospital

ज्ञापनपत्र बुझाउन गएको टोलीमा क्षेत्र नं. ४ का नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी प्रतिनिधिहरूले प्रदेशको राजधानी निर्माण गोदावरीको मात्र नभई समग्र सुदूरपश्चिमको विकास, प्रशासनिक स्थायित्व र समृद्धिसँग जोडिएको विषय भएकाले सरकारले निर्णय कार्यान्वयनमा ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

ज्ञापनपत्रमा राखिएका मागप्रति मुख्यमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले सकारात्मक धारणा व्यक्त गर्दै आवश्यक प्रक्रिया अघि बढाउने तथा माग कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको संयोजक साउँदले बताएका छन् ।

राजधानी निर्माणसँगै सडक पूर्वाधार र धार्मिक पर्यटनको विकासलाई एकीकृत रूपमा अघि बढाउन सके गोदावरी क्षेत्रलाई सुदूरपश्चिमको महत्वपूर्ण प्रशासनिक, आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।

क्षेत्र नं. ४ का नेता तथा कार्यकर्ताले सरकारको प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आगामी बजेट तथा कार्यक्रममा यी विषयलाई प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन् ।