
अत्तरियाः युवा पुस्तालाई प्रकृति, संस्कृति र सिकाइसँग जोड्दै स्वस्थ, व्यस्त र मस्त जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले कैलालीको गोदावरीबाट ‘शान्ति पदयात्रा’ अर्थात् #Trekking4Peace अभियान सुरु गरिएको छ।

पवित्र धार्मिक स्थल गोदावरीबाट सुरु भएको पदयात्रा उत्तरपूर्वतर्फ फूलबस्ती जाने पदमार्ग हुँदै अघि बढाइएको हो। करिब ३–४ घण्टाको छोटो यात्राका क्रममा प्रकृतिसँग रमाउँदै योग, ध्यान तथा विभिन्न कलात्मक गतिविधिमा सहभागी हुने अवसरसमेत रहने आयोजकले जनाएको छ।


अभियानका अगुवा पदयात्री डा. हरिचन्द्र कमलीले पदयात्राले आन्तरिक पर्यटन, स्थानीय संस्कृति प्रवर्द्धन र सामूहिक सहकार्यसँगै प्राकृतिक जीवनशैली अपनाउन प्रेरित गर्ने बताए। उनका अनुसार शान्त र सुखी जीवनका लागि प्रकृतिसँग नजिक हुनु आवश्यक रहेकाले अभियानलाई निरन्तरता दिइनेछ।
उनले इच्छुक जोकोहीलाई सामूहिक रूपमा पदयात्रामा सहभागी हुन आह्वान गरेका छन्। धनगढी, अत्तरिया र महेन्द्रनगरजस्ता ठूला शहर नजिकै रहेको यो क्षेत्रबाट एकै दिनमा प्राकृतिक आनन्द र शान्तिको अनुभूति लिन सकिने भएकाले पदयात्राको सम्भावना राम्रो रहेको बताइएको छ।
आयोजकका अनुसार भदौ ६ गते शनिबार बिहान ११ बजे गोदावरी पुलबाट पदयात्रा सुरु हुनेछ। अभियानलाई व्यवस्थित बनाउन स्थानीय तह र प्रदेश सरकारको ध्यान आवश्यक रहेको सरोकारवालाको भनाइ छ।































