
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकताका लागि सभापति गगन थापासँग छलफल गर्ने बताएका छन्। आइतबार बिहान देउवा निवास पुगेका डडेलधुराका कांग्रेसका पूर्वसभापति कर्ण मल्लसँगको भेटमा देउवाले यस्तो बताएका हुन्।

मल्लका अनुसार उनले पार्टीलाई एकताबद्ध बनाएर १५औँ महाधिवेशनतर्फ अघि बढाउन देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए। सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्न आवश्यक भूमिका खेल्न आग्रह गर्दा देउवा सकारात्मक देखिएको मल्लले बताए।

मल्लले देउवासँग पार्टीभित्रको विवाद अन्त्य गर्दै सभापति गगन थापासँग सहकार्य र एकताका विषयमा छलफल गर्न आग्रह गरेका थिए। जवाफमा देउवाले सभापति थापासँग पार्टी एकताका लागि छलफल गर्ने बताएका हुन्।

उपचारपछि स्वास्थ्य अवस्थाबारे बुझ्न देउवालाई भेट्न गएको मल्लले बताए। उनका अनुसार देउवाको स्वास्थ्य अवस्था अहिले ठीक रहेको पाइएको छ। मल्ल डडेलधुरामा दुईपटक कांग्रेस सभापति भइसकेका छन्। पछिल्लो समय देउवासँग उनको राजनीतिक सम्बन्धमा दूरी बढेको थियो। पछिल्लो भेटलाई भने दुवैबीच संवाद पुनः सुरु गर्ने प्रयासका रूपमा हेरिएको छ।































