
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा बसको ठक्करबाट बझाङकी सिन्की बोहराको मृत्यु भएपछि अत्तरिया बजार तनावग्रस्त बनेको छ। घटनापछि स्थानीय तथा मृतकका आफन्तले पहाड रोड र पूर्व रोडमा सवारी आवागमन अवरुद्ध गर्दै विरोध जनाएका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय मालाखेती घेराउसमेत गरेका छन्।

प्रत्यक्षदर्शीका अनुसार पानी बेच्दै आएकी बोहरालाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। बसले ब्याक गर्ने क्रममा उनलाई किचेको आरोप लगाउँदै स्थानीय तथा आफन्त आक्रोशित बनेका छन्। उनीसँगै पानी बेच्दै आएका महिलाहरूले सुरुमा बसको टायरमुनि खुट्टा परेको र त्यसपछि चालकले बस ब्याक गर्दा शरीर किचिएको बताएका छन्।

यद्यपि बस ब्याक गरेर किचेको विषयमा आधिकारिक पुष्टि भइसकेको छैन। स्थानीय र आफन्तले घटनाको निष्पक्ष छानबिन गरी चालकलाई कडा कारबाही गर्न माग गरेका छन्। अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख ९५६ नम्बरको बसले किचेको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार घटनापछि बस चालक दार्चुलाको मालिकार्जुनका रोहितसिंह धामीलाई नियन्त्रणमा लिइएको छ । बससमेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अत्तरियामा राखिएको प्रहरीले जनाएको छ ।
आफन्तको अनुमति नलिई शवलाई मुचुल्का गरेर बसपार्कबाट अन्यत्र लगिएको भन्दै उनीहरूले थप आक्रोश व्यक्त गरेका छन्। घटनापछि अत्तरियामा सुरक्षा व्यवस्था कडा पारिएको छ।































