चाडपर्वकै मुखमा प्याजको मूल्य आकासियो, एक महिनामै ४० प्रतिशत उछाल !

Image
Nisarga Hospital

चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा प्याजको मूल्य अस्वाभाविक रूपमा बढेको छ। पछिल्लो एक महिनामै थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँबाट बढेर ७७ रुपैयाँ पुगेको छ। गत वर्षको औसत ४६ रुपैयाँको तुलनामा अहिले प्याज ६५ प्रतिशत महँगिएको हो। खुद्रा बजारमा प्याज प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म बिक्री भइरहेको छ।

CP Hospital Dhangadhi

प्याजको मूल्य बढेपछि नयाँ बानेश्वरमा चटपटे तथा पानीपुरी बेच्ने पार्वती थापाले प्याजको मात्रा घटाउन थालेकी छन्। दैनिक करिब एक किलो प्याज खपत गर्ने उनले पहिले ६०–७० रुपैयाँमा पाइने प्याज अहिले १ सय रुपैयाँसम्म पुगेको बताइन्। गृहिणीहरूले पनि मूल्य बढेकै कारण तरकारीमा प्याजको प्रयोग घटाउन थालेका छन्।

व्यवसायीका अनुसार नेपाल प्याजका लागि करिब ९८ प्रतिशत भारतमा निर्भर छ। भारतमा उत्पादन घट्नु, खराब मौसमका कारण आपूर्ति प्रभावित हुनु र चाडपर्वका कारण माग बढ्नुले मूल्य उकालो लागेको हो। व्यवसायीले दसैंसम्म प्याजको मूल्य अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

nawajiwan
Attariya Hospital

आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलका अनुसार भारतबाट नेपालसम्म ल्याउँदा नै प्याजको लागत प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी पर्न थालेको छ। उनले बजारमा अभाव र मूल्यवृद्धि रोक्न सरकारले सरकार–सरकारबीचको (जीटुजी) माध्यमबाट प्याज आपूर्ति गर्नुपर्ने सुझाव दिएका छन्।

उपभोक्ता अधिकारकर्मीहरूले भने चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने प्रवृत्तिमाथि कडा अनुगमन गर्न सरकारसँग माग गरेका छन्। चालु आर्थिक वर्षको पहिलो महिना साउनमै भारतबाट ७१ करोड ८३ लाख रुपैयाँभन्दा बढीको प्याज आयात भएको तथ्यांकले नेपाल परनिर्भरता देखाएको छ।