नेपाल पत्रकार महासंघ बझाङको ८औँ साधारण सभा सम्पन्न, पत्रकार तथा सञ्चार संस्थालाई पुरस्कार

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङ: नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको ८औँ वार्षिक साधारण सभा विभिन्न निर्णय, पुरस्कार तथा सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ। साधारण सभाका अवसरमा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीसमेत मनाइएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह, केन्द्रीय सदस्य, प्रदेश महासचिवलगायत महासंघका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, पत्रकारको पेशागत सुरक्षा, सञ्चारमाध्यमको आर्थिक संकट तथा जिल्लाको समग्र विकासका विषयमा छलफल गरिएको थियो। बझाङका सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बन्दै गएको भन्दै पत्रकारिता क्षेत्रको संरक्षण र विकासका लागि स्थानीय सरकार, प्रशासन, निजी तथा गैरसरकारी क्षेत्रलगायत सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

CP Hospital Dhangadhi


कार्यक्रममा नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहले पत्रकारिता क्षेत्रको विकाससँगै जिल्लाका समसामयिक सवाललाई प्राथमिकताका साथ उठाउँदै नागरिकको आवाज राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष सिंहले भन्नुभयो, “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाज र राज्यलाई सही दिशामा अघि बढाउन खबरदारी गर्ने महत्वपूर्ण माध्यम हो। बझाङका विकास, जनजीविका र नागरिकका समस्यालाई प्राथमिकताका साथ उठाउँदै पत्रकारको पेशागत हकहित र सञ्चारमाध्यमको संरक्षणका लागि महासंघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नेछ।”

Attariya Hospital

साधारण सभाले जयपृथ्वी राजमार्गको स्तरोन्नति, चैनपुर–ताक्लाकोट सडक तथा सेती राजमार्ग निर्माण र पश्चिम सेती परियोजनाको काम यथाशीघ्र अघि बढाउन सरकारसँग माग गरेको छ। साथै खप्तड, सुर्मा सरोवर, साइपाल, पाथीभेरा, बुङ्गललगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिन तीनै तहका सरकारसँग आग्रह गरिएको छ।
त्यस्तै बझाङमा देखिँदै आएको विद्युत् अनियमितता तथा लोडसेडिङको समस्या समाधान गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

nawajiwan

पत्रकार तथा सञ्चार संस्थालाई पुरस्कार
साधारण सभाका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकार तथा सञ्चार संस्थालाई विभिन्न पुरस्कार प्रदान गरिएको छ। जयपृथ्वीबहादुर सिंह पत्रकार पुरस्कारबाट भूमिराज पिठातौली र नरेश स्मृति पत्रकारिता पुरस्कारबाट सत्यराज सिंह पुरस्कृत भएका छन्। त्यस्तै संस्थागत पुरस्कार रेडियो बुगल एफएमलाई प्रदान गरिएको छ।
कार्यक्रममा पत्रकारिता क्षेत्रको संस्थागत विकासमा योगदान पुर्‍याउने अग्रज पत्रकारहरूलाई समेत सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ बझाङ शाखाका संस्थापक अध्यक्ष जगत खड्का तथा पूर्व अध्यक्षहरू जगदीश रोकाया, शैलेन्द्र रोकाया र डिबी विष्ट सम्मानित भएका छन्।
साधारण सभाले बझाङ जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक तथा पर्यटकीय विकासका सवाललाई सञ्चारमाध्यममार्फत निरन्तर उठान गर्दै जिल्लाको समग्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।