
इराकले सशस्त्र समूह तथा मिलिसियासँग रहेका हतियार राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–आराजीका अनुसार अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन आगामी सेप्टेम्बर ३० मा इराकबाट फिर्ता भएपछि निशस्त्रीकरण प्रक्रिया क्रमशः अघि बढाइनेछ।

अल–आराजीले यसलाई ‘रणनीतिक इराकी निर्णय’ भन्दै सशस्त्र समूहसँग भिडन्त नगरी संवाद र सहमतिका माध्यमबाट प्रक्रिया अघि बढाइने बताए। सरकारले कुनै पनि प्रकारको सशस्त्र भिडन्तलाई ‘रातो रेखा’ मानेको उनको भनाइ छ। साथै, निशस्त्रीकरण प्रक्रियामा सहभागी हुने लडाकुको अधिकार सुरक्षित गरिने उनले बताएका छन्।

तर, इरानसँग निकट केही सशस्त्र समूहले सरकारको योजनाको विरोध गर्दै आएका छन्। कताइब हिज्बुल्लाहले विदेशी सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, उत्तरी इराकबाट टर्कीका सेना हटाउनुपर्ने तथा कुर्दिस लडाकु समूह पेस्मेर्गा विघटन गर्नुपर्ने माग राखेको छ। यसले सरकारको निशस्त्रीकरण योजनामा चुनौती थपिएको छ।
































