सम्झौता भएको चार वर्ष बित्दा पनि बाजुराको गौमुलको पक्की पुल अलपत्र !

Image
Nisarga Hospital

बाजुराको गौमुल गाउँपालिका केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमाथि निर्माण हुने भनिएको पक्की पुल सम्झौता भएको चार वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढी र एआर चन्द्र ग्रुप जेभीबीच २०७९ वैशाखमा चार करोड एक लाख २२ हजार ४८४ रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो। निर्माण कम्पनीले ३५ लाख रुपैयाँ पेस्कीसमेत लिएको छ।

CP Hospital Dhangadhi

सम्झौताअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म आयोजनास्थलमा काम सुरु नभएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। उनका अनुसार पटकपटक आग्रह गर्दा पनि निर्माण अघि बढ्न सकेको छैन। पुल नहुँदा वर्षायाममा आवतजावत तथा यातायातमा समस्या हुने गरेको स्थानीयको गुनासो छ।

Attariya Hospital

सदरमुकाम मार्तडीदेखि घटमुनासम्म करिब १२ किलोमिटर सडक रहे पनि बाटोमा बुढीगङ्गासहित दुई नदी पार गर्नुपर्ने अवस्था छ। बाहुली खोलामा पनि पुल निर्माण अघि बढ्न सकेको छैन। घटमुनाको पुल बने बाजुराबाट बझाङसम्मको छोटो सडकमार्ग सञ्चालनमा सहज हुने स्थानीयको भनाइ छ।

nawajiwan

हाल उक्त सडकखण्डको करिब ६ किलोमिटर कालोपत्रको काम सुरु भएको छ। तर पुल निर्माण नहुँदा सडकको पूर्ण उपयोग हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार लामो समयसम्म काम नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।