‘मेरो सपना टुट्यो’ : जापानको कडा भिसा नियमले नेपाली व्यवसायी चिन्तित

Image
Nisarga Hospital

जापानमा व्यवसाय गरेर भविष्य बनाउने सपना बोकेका विदेशी नागरिकमाथि नयाँ भिसा नियमले दबाब बढाएको छ। विशेषगरी ‘बिजनेस म्यानेजर’ भिसाका लागि जापान सरकारले मापदण्ड कडा बनाएपछि साना व्यवसाय सञ्चालन गर्दै आएका विदेशी उद्यमी प्रभावित भएका छन्।

CP Hospital Dhangadhi

टोकियोको ओकुबो क्षेत्रमा नेपाली परिकारको रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी ३८ वर्षीया नेपाली नागरिक सम्झना बुधथोकी पनि नयाँ नियमबाट प्रभावित हुने अवस्थामा पुगेकी छन्। जापानमा अध्ययनका लागि सन् २०१६ मा पुगेकी उनले वर्षौं मेहनत र बचतपछि सन् २०२३ मा पहिलो रेस्टुरेन्ट खोलेकी थिइन्। गत जनवरीमा तेस्रो रेस्टुरेन्टसमेत सञ्चालन गरेपछि उनले नेपालमा रहेकी १४ वर्षीया छोरीलाई जापान ल्याएकी थिइन्।

तर अहिले व्यवसाय जोगाउने कि भिसा जोगाउने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। नयाँ नियमअनुसार बिजनेस म्यानेजर भिसाका लागि आवश्यक न्यूनतम पूँजी ५० लाख येनबाट बढाएर ३ करोड येन पुर्‍याइएको छ। यो रकम करिब १ करोड ८५ लाख नेपाली रुपैयाँ बराबर हुन्छ। बुधथोकीका अनुसार आफूजस्ता साना व्यवसायीका लागि यति ठूलो रकम जुटाउनु लगभग असम्भव छ।

nawajiwan

‘जापान र नेपालबीच पुल बन्ने मेरो सपना थियो, तर मेरो सपना टुट्यो,’ उनले भनेकी छन्। छोरीलाई जापान ल्याएपछि भिसा नवीकरण नहुने हो कि भन्ने चिन्ताले आफूभन्दा बढी छोरीको भविष्यको डर लागेको उनको भनाइ छ।

Attariya Hospital

नयाँ नियमअनुसार व्यवसायीले जापानी नागरिक वा दीर्घकालीन बसोबास अनुमति भएका व्यक्तिलाई रोजगारी दिनुपर्ने लगायतका थप मापदण्ड पनि पूरा गर्नुपर्नेछ। जापानमा श्रमिकको अभाव भइरहेका बेला साना व्यवसायीलाई यस्तो सर्त पूरा गर्न कठिन हुने बताइएको छ।

भारतका रेस्टुरेन्ट व्यवसायी मनिष कुमारले ३० वर्ष जापानमा बसेर १८ वर्षदेखि व्यवसाय सञ्चालन गरे पनि आफ्नो बिजनेस म्यानेजर भिसा नवीकरण नहुने जानकारी पाएका छन्। उनका छोराछोरी जापानमै हुर्किएका छन् र जापानी भाषा बोल्छन्। ‘हाम्रा छोराछोरी जापानी हुन्, तर हामीलाई भारत फर्कन भनिँदैछ,’ उनले भावुक हुँदै बताएका छन्।

नयाँ नियमविरुद्ध ६७ हजार ८०० भन्दा बढी मानिसले हस्ताक्षर गरेको निवेदनसमेत दर्ता भएको छ। जापान सरकारले भने वास्तविक व्यवसाय सञ्चालन नगरी भिसा प्राप्त गर्ने प्रवृत्ति रोक्न नियम कडा बनाइएको बताउँदै आएको छ।

जापानमा जन्मदर घट्दै गएको र वृद्ध जनसंख्या बढिरहेका बेला विदेशी श्रमिक तथा उद्यमीको आवश्यकता बढ्दो छ। तर आप्रवासनप्रति बढ्दो असन्तुष्टिका कारण सरकारले विदेशी नागरिकसम्बन्धी नियम थप कडा बनाउँदै लगेको छ। जानकारहरू भने गलत तरिकाले भिसा प्रयोग गर्नेहरूलाई रोक्ने क्रममा वास्तविक व्यवसायी र वर्षौंदेखि जापानमा योगदान गरिरहेका विदेशी नागरिकसमेत प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्छन्।