सैनिक आवासीय महाविद्यालय, तेघरीमा ‘छुकछुके रोबोट’ कार्यशाला सम्पन्न, विद्यार्थीले बनाए फुटबल खेल्ने रोबोट

Image
Nisarga Hospital

अत्तरियाः सैनिक आवासीय महाविद्यालय, तेघरीमा विद्यार्थीको सिर्जनशीलता, प्राविधिक सीप र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित १३औँ ‘छुकछुके रोबोट’ कार्यशाला सम्पन्न भएको छ। भदौ ४ गतेदेखि सुरु भएको पाँचदिने कार्यशाला भदौ ८ गते विद्यार्थीले निर्माण गरेका रोबोटको प्रदर्शन तथा रोबोट फुटबल प्रतियोगितासहित सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

समापन समारोहमा विद्यार्थीहरूले आफैँ निर्माण गरेका रोबोट प्रदर्शन गरेका थिए। कार्यशालाको मुख्य आकर्षणका रूपमा रहेको ‘छुकछुके रोबोट’ घरेलु स्तरमै निर्माण गर्न सकिने हिँड्ने रोबोट हो। उक्त रोबोटले फुटबलसमेत खेल्न सक्ने भएकाले विद्यार्थीमा रोबोटिक्स र प्रविधिप्रति थप रुचि तथा उत्साह बढेको विद्यालयले जनाएको छ।

nawajiwan

कार्यशालाअन्तर्गत आयोजित रोबोट फुटबल प्रतियोगितामा टिम च्याम्पियन्स विजयी भएको छ। टिम लिटिल इन्जिनियर र टिम च्याम्पियन्सबीच भएको प्रतिस्पर्धामा च्याम्पियन्सले २–१ गोलअन्तरले उपाधि जितेको हो।

Attariya Hospital

कार्यशालामा विद्यार्थी तथा शिक्षकले रोबोट निर्माण, समस्या समाधान र नवप्रवर्तनका विभिन्न चरणमा प्रयोगात्मक अभ्यास गरेका थिए। डिजाइनिङ, मेकानिकल एसेम्बली, इलेक्ट्रोनिक इन्टिग्रेसन तथा सफ्टवेयर कन्ट्रोलसम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्नु कार्यशालाको मुख्य उद्देश्य रहेको विद्यालयका प्रमुख व्यवस्थापक तथा प्रमुख सेनानी खिलबहादुर रानाले बताए। विद्यालयले सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीको व्यवहारिक सीप र सिर्जनात्मक क्षमताको विकासलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ।

समापन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिष पन्तले यस्ता प्रयोगात्मक कार्यक्रमले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउनुका साथै उनीहरूलाई प्रविधिको क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने बताए। विद्यालयका प्रधानाध्यापक सिद्धेश्वर पन्तले रोबोटिक्सजस्ता प्रयोगात्मक गतिविधिले विद्यार्थीलाई प्रविधिमैत्री भविष्यका लागि तयार पार्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।

गोदावरी आविष्कार केन्द्रका निर्देशक शेखरराम साउँद कार्यशालाका प्रमुख प्रशिक्षक रहेका थिए। कार्यशालामा विद्यार्थीले प्रविधिलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी आफ्नै हातबाट निर्माण, परीक्षण र प्रयोग गर्ने अवसर पाएका थिए।