
बाजुराः बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा टावर निर्माण गरी 4G सेवा सञ्चालनमा ल्याएको छ। समुद्र सतहबाट करिब ४ हजार २०५ मिटर उचाइमा रहेको बडिमालिका क्षेत्रमा करिब ४ हजार २३० मिटरको उचाइमा टावर निर्माण गरिएको हो।

टावर निर्माण सम्पन्न भएसँगै बडिमालिका क्षेत्रका स्थानीय तथा त्यहाँ पुग्ने पर्यटकले मोबाइल तथा इन्टरनेट सेवामा सहज पहुँच पाउने नेपाल टेलिकमले जनाएको छ। दुर्गम र कठिन भूगोलका कारण सञ्चार सेवाको पहुँच विस्तार चुनौतीपूर्ण रहेको क्षेत्रमा टावर निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
टावर निर्माणका लागि नेपाल टेलिकमका इलेक्ट्रोनिक इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियर दीपक भट्टलगायत प्राविधिक तथा कर्मचारी खटिएका थिए। उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच टावर निर्माण गरिएको जनाइएको छ।


निर्माण सम्पन्न भएपछि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टावर निर्माणस्थलमा खटिएका प्राविधिक तथा कर्मचारी र बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्कालगायतलाई भिडियो कलमार्फत धन्यवाद दिएका छन्।
4G सेवा सञ्चालनमा आएसँगै बडिमालिका क्षेत्रमा पुग्ने तीर्थयात्री, पर्यटक तथा स्थानीयवासीलाई सञ्चार र इन्टरनेट प्रयोगमा सहज हुने अपेक्षा गरिएको छ। साथै, आपत्कालीन अवस्थामा सूचना आदानप्रदान गर्न तथा पर्यटन प्रवर्द्धनमा समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ।






























