
धनगढी : धनगढीकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु प्रकरणमा जिल्ला अदालत कैलालीले उनका श्रीमान सहित परिवारका पाँच जनाविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दामा आदेश गरेको छ। अदालतले मृतकका श्रीमान् भरत धामी र नन्द भावना धामीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

जिल्ला अदालत कैलालीका न्यायाधीश ठाकुरप्रसाद पौडेलको इजलासले सोमबार यस्तो आदेश गरेको हो। अदालतको आदेशअनुसार प्रतिवादीमध्ये रामबहादुर धामी र मिना धामीलाई जनही १ लाख ५० हजार रुपैयाँ तथा सरस्वती धामी बोहोरालाई १ लाख रुपैयाँ धरौटी माग गरिएको छ। धरौटी बुझाए उनीहरू थुनामुक्त हुन सक्नेछन्।
पूजाका माइती पक्षले उनलाई दाइजोको विषयलाई लिएर यातना दिइएको र सोही कारण उनको हत्या भएको दाबी गर्दै भरतसहित परिवारका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले भरत धामी, रामबहादुर धामी, मिना धामी, सरस्वती धामी बोहोरा र भावना धामीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

मुद्दाको सुनुवाइका क्रममा पूजाका माइती पक्षका तर्फबाट सरकारी वकिलसँगै अतिरिक्त अधिवक्ता विनोदकुमार भट्ट र अधिवक्ता हिमालय बिष्टले बहस गरेका थिए।

कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथलाकी पूजा धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग विवाह गरेकी थिइन्।
गत साउन ११ गते पूजा आफ्नै घरमा सिलिङ पंखामा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन्। तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
अदालतको पछिल्लो आदेशसँगै पूजाका श्रीमान् भरत र नन्द भावना पुर्पक्षका लागि कारागार पुगेका छन्। रामबहादुर, मिना र सरस्वती भने अदालतले तोकेको धरौटी रकम बुझाएपछि थुनामुक्त हुन सक्नेछन्। मुद्दाको अन्तिम फैसला भने प्रमाण र आगामी न्यायिक प्रक्रियापछि हुनेछ।































