
काठमाडौंः देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तथा मधेस र कोशी प्रदेशका केही तराई भूभागमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना छ। तराईका विभिन्न क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यात्रा तथा दैनिक कामकाजमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।































