भारतीय सेनाको जागिरपछि ड्रागन फ्रुट खेतीमा चम्किएको सफलता, वार्षिक ६० लाखसम्म आम्दानी

Image
Nisarga Hospital

सुनसरीः आकर्षक बगैँचा, लटरम्म फलेका फल र अनुहारमा आत्मविश्वासपूर्ण मुस्कान। सुनसरीको रामधुनी–७ का कृपाश्वर घले गुरुङको अहिलेको परिचय यही बनेको छ। भारतीय सेनामा २८ वर्ष सेवा गरेपछि अवकाश लिएका उनले विदेशमै सीमित नरही आफ्नै माटोमा सम्भावना खोजे। यही सोचले २०७४ सालमा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक खेती सुरु गरे।

CP Hospital Dhangadhi

दुई बिघा क्षेत्रफलमा फैलिएको उनको फार्म अहिले सफल कृषिको उदाहरण बनेको छ। करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट सुरु भएको यात्रा अहिले ५०० बोटसम्म पुगेको छ। गत वर्ष २७ मेट्रिकटन ड्रागन फ्रुट उत्पादन गरेका उनले यस वर्ष उत्पादन ३० मेट्रिकटनभन्दा बढी पुग्ने अनुमान गरेका छन्।

ड्रागन फ्रुट वैशाखदेखि कात्तिकसम्म ९–१० पटकसम्म फल्ने भएकाले यसको व्यावसायिक सम्भावना राम्रो रहेको कृपाश्वर बताउँछन्। बत्तीको प्रयोगबाट बेमौसममा समेत उत्पादन लिन सकिन्छ। फल प्रतिकेजी थोकमा ३००, खुद्रामा ३५० र बेमौसममा ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। फल तथा बिरुवा बिक्रीबाट उनले वार्षिक ५५–६० लाख रुपैयाँसम्म आम्दानी गर्छन्।

nawajiwan
Attariya Hospital

फार्म सञ्चालनमा वार्षिक ८–९ लाख रुपैयाँ खर्च भए पनि उत्पादनले राम्रो प्रतिफल दिइरहेको छ। फार्ममा दुई स्थायी र आवश्यकता अनुसार ८–९ जनाले रोजगारी पाएका छन्। काठमाडौं, पोखरा, हेटौँडा, बुटवलदेखि धरान, इटहरी र विराटनगरसम्म उनका उत्पादन पुग्छन्।

ड्रागन फ्रुट खेतीमा योगदान पुर्‍याएबापत एक दर्जनभन्दा बढी सम्मान पाइसकेका कृपाश्वरको सफलताबाट प्रेरित भएर रामधुनी–७ का १० भन्दा बढी घरधुरीले व्यावसायिक खेती सुरु गरेका छन्। उनी मेहनत र लगन भए नेपालमै राम्रो आम्दानी गर्न सकिने बताउँछन्।

खबरहब बाट सभार