मानवता जातभन्दा माथि : अन्तिम संस्कारमा देखिएको एउटा प्रेरणादायी उदाहरण

Image
Nisarga Hospital

अत्तरियाः आज धनगढीमा एक आफन्तको असामयिक निधन भयो। अन्तिम संस्कारका लागि गोदावरी आर्यघाट पुगेका मलामीमध्ये अधिकांश चिनेजानेकै थिए। तर भीडमा एक जना अपरिचितजस्ता देखिने व्यक्ति शवलाई काँध दिँदै, चिता निर्माणमा जुट्दै र अन्तिम संस्कारका हरेक काममा सक्रिय रूपमा सहभागी भइरहेका थिए।

CP Hospital Dhangadhi

उहाँलाई नियाल्दा मनमा स्वाभाविक जिज्ञासा उठ्यो—उहाँ को हुनुहुन्छ? सोधखोज गर्दा थाहा भयो, उहाँ धनगढी निवासी र डोटी घर भएका क्षेत्री समुदायका व्यक्ति रहेछन्। दिवंगत व्यक्ति भने उहाँकै कपडा पसलमा लुगा सिलाउने परियार समुदायका रहेछन्।

समाजमा आज पनि जातीय विभेद र छुवाछूतका अवशेषहरू विभिन्न रूपमा देखिन्छन्। दलित समुदायले डेरा नपाउने, सार्वजनिक तथा सामाजिक गतिविधिमा विभेद भोग्नुपर्ने र आफ्नै छिमेकीलाई विवाह, व्रतबन्ध, नवाह वा सप्ताहजस्ता धार्मिक तथा सामाजिक कार्यक्रममा निम्त्याउन हिच्किचाउने अवस्था कतिपय ठाउँमा अझै विद्यमान छ। यस्तो परिवेशमा ती क्षेत्री व्यवसायीले देखाएको व्यवहार सामान्य घटना मात्र होइन, मानवताको एउटा सशक्त सन्देश हो।

nawajiwan
Attariya Hospital

उहाँले शवलाई काँध दिनुभयो, चिता बनाउन खट्नुभयो र सन्तानले अग्नि दिएपछि पनि चिता राम्रोसँग जलोस् भनेर अन्तिमसम्म जिम्मेवारीपूर्वक लागिरहनुभयो। जात, समुदाय वा सामाजिक हैसियतभन्दा माथि उठेर उहाँले निभाएको यो मानवीय दायित्व वास्तवमै प्रशंसनीय छ।

हामीले उहाँको परिचय जातबाट होइन, ‘मानवताबाट’ गर्नुपर्छ। समाजमा परिवर्तन भाषणले मात्र आउँदैन; व्यवहारले देखाएको उदाहरणले ठूलो प्रभाव पार्छ। एक व्यक्तिले देखाएको यो साहस र उदारता अरूका लागि पनि प्रेरणा बन्न सक्छ।

जातीय छुवाछूत अन्त्य गर्ने हो भने कानुनसँगै हाम्रो सोच र व्यवहार पनि बदलिनुपर्छ। हरेक मानिसलाई मानिसकै रूपमा सम्मान गर्ने संस्कार विकास गर्न सकियो भने विभेदको पर्खाल विस्तारै भत्किनेछ। गोदावरी आर्यघाटमा देखिएको यो दृश्यले एउटा महत्वपूर्ण सत्य सम्झाएको छ—’मृत्युको अगाडि सबै समान हुन्छन्, अनि मानवताको अगाडि जातको कुनै अर्थ हुँदैन।’