
कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी बझाङको मष्टा गाउँपालिका–६ घर भई हाल गोदावरी नगरपालिका–१ मा बस्दै आएकी सिन्की बोहराको शव अझै सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

आइतबार महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले अत्तरिया बसपार्कमा बोहरालाई ठक्कर दिएको थियो। बसपार्क क्षेत्रमा पानी र भुजा बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी बोहराको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि स्थानीय तथा आफन्तले चालकलाई कडा कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै अत्तरिया बजारमा विरोध गरेका थिए।

सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीमा दोषीलाई कारबाही तथा क्षतिपूर्तिका विषयमा भएको छलफल सहमतिविहीन बनेको छ। कार्यालयका डीएसपी हीरा महराका अनुसार पुनः मंगलबार बिहान छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ।































