
कैलालीको अत्तरिया बसपार्कमा भदौ ७ गते भएको सडक दुर्घटनाका विषयमा प्रतिनिधिसभा सदस्य ऐन महरले दिएको अभिव्यक्तिप्रति नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आपत्ति जनाएको छ। संगठनले दुर्घटनाको सत्यतथ्य र प्रमाणको अध्ययन नगरी यातायात श्रमिक तथा चालकलाई दोषी देखाउने गरी अभिव्यक्ति दिनु उचित नभएको जनाएको हो।

महाकाली यातायातको बसको ठक्करबाट ५३ वर्षीया सिन्की बोहराको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै संगठनले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ। संगठनले अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा सुरक्षित सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
संगठनले सांसद महरले संसद्मा व्यक्त गरेको तथ्यहीन तथा यातायात श्रमिकको मानमर्दन हुने अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने, पीडित परिवारलाई कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र निर्दोष चालकलाई अन्याय नहुने गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ।


यसैबीच, बोहरा अत्तरिया बसपार्कमा हातमा पानी तथा खाद्य सामग्री बोकेर बिक्री गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्। मजदुर संगठनले चलिरहेका तथा पार्किङमा रहेका सवारीसाधन वरिपरि पुगेर हुने यस्तो व्यापारलाई व्यवस्थित गर्न राज्यले देशव्यापी ठोस व्यवस्था गर्नुपर्ने बताएको छ। सडक, सवारी, प्रविधि र नियमन प्रणालीको भूमिकासमेत हेरेर दुर्घटनाको समग्र अनुसन्धान हुनुपर्ने संगठनको धारणा छ।
































