सासूको निधनपछि सभामुख अर्यालले प्रतिनिधिसभा बैठक बुधबारका लागि सारे

Image
Nisarga Hospital

सभामुख डोलप्रसाद अर्यालले आफ्नी सासू शिवकुमारी केसीको निधन भएपछि मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरी बुधबारका लागि सारेका छन्। मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक अब भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ।

CP Hospital Dhangadhi

९० वर्षीया केसीको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो। उनलाई शनिबार घर लगिएकोमा मंगलबार बिहान निधन भएको हो। सासूको निधनपछि सभामुख अर्यालले संसद् सचिवालयलाई बैठकको समय परिवर्तनसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए।

प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ अनुसार सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्ने व्यवस्था छ। सभामुख काबुबाहिरको परिस्थितिका कारण उपस्थित हुन नसकेमा उपसभामुखले बैठक सञ्चालन तथा स्थगन गर्न सक्ने प्रावधानसमेत छ।

nawajiwan
Attariya Hospital

उपसभामुख रुबी कुमारीले भने बैठक स्थगित भएको जानकारी आफूलाई अचानक प्राप्त भएको बताएकी छन्। उनका अनुसार नियमावलीले आकस्मिक परिस्थितिमा बैठक स्थगित गर्न सक्ने व्यवस्था गरेको छ।

यसअघि पनि सभामुख वा अध्यक्ष अनुपस्थित हुँदा उपसभामुख तथा उपाध्यक्षले संसद् बैठक सञ्चालन गरेका उदाहरण छन्। २०७६ सालमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभा बैठक सञ्चालन गरेकी थिइन्। राष्ट्रिय सभामा पनि उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको लिखित अनुमतिमा बैठक सञ्चालन गरेकी थिइन्।

नियमावलीमा सभामुख वा अध्यक्षले बैठक सञ्चालन गर्न नसक्ने काबुबाहिरको परिस्थिति उत्पन्न भएमा उपसभामुख वा उपाध्यक्षले बैठक सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।