
कैलालीको गोदावरी नगरपालिका–८ धनचौरीमा शारीरिक तथा मानसिक रूपमा अपाङ्ग ३० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकविरुद्ध प्रहरीमा जाहेरी परेको छ। घटनामा सोही ठाउँका करिब २५ वर्षीय कृष्णराज भट्टराईविरुद्ध कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियामा जाहेरी दर्ता गरिएको हो।

जाहेरीअनुसार घटना भदौ ९ गते बिहान करिब ११ बजे भएको हो। घरका सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगअन्तर्गत भइरहेको जग्गा नापजाँचमा गएको समयमा पीडित महिला घरमा एक्लै रहेको बताइएको छ। जन्मदेखि नै शारीरिक तथा मानसिक रूपमा अपाङ्ग रहेको उल्लेख गरिएकी महिलामाथि भट्टराईले जबरजस्ती करणी गरेको जाहेरीमा दाबी गरिएको छ।
घर फर्किएका आफन्तले महिलाको रोएको आवाज सुनेपछि कोठाभित्र जाँदा भट्टराईलाई आपत्तिजनक अवस्थामा फेला पारेको र रोक्न खोज्दा उनले पीडितकी भाउजुलाई हात समातेर भुइँमा लडाएको तथा कुर्तासमेत च्यातेको आरोप छ। त्यसपछि उनी घटनास्थलबाट फरार भएको जाहेरीमा उल्लेख छ।




इलाका प्रहरी कार्यालय मालाखेतीले घटनाबारे मौखिक जानकारी पाएलगत्तै भट्टराईलाई पक्राउ गरेको जनाएको छ। अहिले पीडित परिवारले मुद्दा दर्ता गराइसकेको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
परिवारले पीडितको स्वास्थ्य परीक्षण, घटनास्थलको सर्जमिन तथा आवश्यक प्रमाण संकलन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेको छ। साथै कुनै राजनीतिक दबाब वा चलखेलबिना निष्पक्ष अनुसन्धान गरी न्याय दिलाउन उनीहरूको आग्रह छ।



































