
हिन्दु धर्मशास्त्रमा सातै बारलाई विभिन्न देवी–देवतासँग सम्बन्धित मानिन्छ। विशेष व्रत तथा उपवासबाहेक पनि धेरै हिन्दु धर्मावलम्बीले आफूलाई अनुकूल हुने दिन देवताको पूजा तथा व्रत गर्ने परम्परा छ। बुधबारलाई ‘बुध’ ग्रहसँग सम्बन्धित बार मानिन्छ। यस दिन विशेषगरी भगवान् कृष्णको पूजा तथा आराधना गर्ने धार्मिक मान्यता छ। पूजा गर्दा तुलसीको पात प्रयोग गर्नु शुभ मानिन्छ।

धार्मिक विश्वासअनुसार बुधबार नयाँ काम सुरु गर्नका लागि पनि राम्रो दिन मानिन्छ। यस दिन भगवान् कृष्णको व्रत तथा पूजा गरे मनोकामना पूरा हुने र सकारात्मक फल प्राप्त हुने विश्वास गरिन्छ।

बुधबार केही धार्मिक तथा परोपकारी कार्य गर्दा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। यस दिन गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने मान्यता छ। त्यस्तै, मुंगको दाल दान गर्दा कष्ट कम हुने विश्वास गरिन्छ।

बुधबार भगवान् गणेशलाई सिन्दुर चढाउँदा मनोकामना पूरा हुने धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ। कुण्डलीमा बुध ग्रहको दोष भएका व्यक्तिले गणेशलाई लड्डु चढाउँदा लाभ हुनेसमेत धार्मिक विश्वास रहेको छ।































