
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति आनन्द बिष्टले रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि पार्टीको ‘केन्द्रीय विपद् राहत कोष’मा एक लाख रुपैयाँ सहयोग गरेका छन्।

रसुवाको लेन्दे खोला हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उनले बुधबार उक्त रकम जम्मा गरेका हुन्। प्रेस विज्ञप्ति जारी गर्दै बिष्टले प्राकृतिक विपद्को कठिन घडीमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको नैतिक तथा सामाजिक दायित्व भएको बताएका छन्।
बाढीका कारण प्रभावित परिवारको जनजीवन सामान्य बनाउन तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि ठूलो स्रोतसाधन आवश्यक रहेको उनले उल्लेख गरेका छन्। विपद्को पीडामा रहेका नागरिकलाई सक्दो सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।


बिष्टले देश तथा विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक, उद्योगी, व्यवसायी, विभिन्न संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार राहत कोषमा सहयोग गर्न अपिल गरेका छन्।
सानो सहयोगले पनि विपद्मा परेका परिवारको पीडामा मलम लगाउँदै उनीहरूको पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै उनले यस्तो विषम परिस्थितिमा सबै नेपाली एकजुट भएर विपद्को सामना गर्नुपर्ने बताएका छन्।































